साउन २२ सल्लेरी । संघीयता कार्यन्वयनको शिलसिलामा अहिले स्थानीय निकायको पुनसंरचना गर्ने काम सुरु भएको छ । स्थानीय निकाय पुनसंरचनाबारे जिमी (राई) उत्थान समाजले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । समाजले सोलुखुम्बु जिल्लामा स्थानीय निकायको नयाँ संरचना/गाँउपालिका निर्माण गर्दा किरातीहरुको क्लष्टरलाई बिगार्न नहुने धारणा राखेको छ । त्यसको नामाकरण समेत किरातीहरुकै पहिचान झल्किने गरी गर्नुपर्ने समाजको सुझाव रहेको छ ।
समाजले गत साउन १७ गते सोलुखुम्बुको सदरमुकाम सल्लेरी स्थित होटल मुस्ताङ धौलागिरीमा एक कार्यक्रमको आयोजना गरी आफ्नो धारणा स्थानीय निकाय पुनसंरचना प्राविधिक सुझाव समिति, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधी, पत्रकार र अन्य सरोकारवाला निकायलाई सुझावको रुपमा बुझाएको हो ।
समाजले किरात खालिङ राईहरुको संघन बसोबास रहेको गाविसहरु काँकु, बासा, टाक्सिन्दु, जुभिङ, वाकु र पावैका केही वडाहरु मिलाएर खालिङ गाँउपालिका, किरात थुलुङ राईहरुको संघन बसोबास रहेको गाविसहरु लोखिम, जुबु, देउसा, मुक्ली, काँगेल र पंचनलाई मिलाएर थुलुङ गाँउपालिका, किरात कुलुङ राईहरुको संघन बसोबास रहेको गाविसहरु गुदेल, छेस्काम, बुङ, सोताङ र पावैलाई मिलाएर महाकुलुङ गाँउपालिका र नेचाबतासे, नेचाबेतघारी, सल्यान र तिङ्ला गाविसलाई मिलाएर बाहिङ गाँउपालिका निर्माण गर्नुपर्नेमा जोड दिएको छ । समाजले सोताङ र पावैलाई भने नाछिरिङ भाषीहरुको बाहुल्य रहेकोले नाछिरिङ स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने समेत माग गरेको छ ।
उक्त सुझाव पेश गर्ने कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेत, नेकपा (एमाले) सोलुका अध्यक्ष मानवीर राई, नेकपा (माओवादी केन्द्र)सोलुका संयोजक हेमकुमार राई (सुरवीर), राप्रपा सोलुका अध्यक्ष भीम राई लगायत अन्य पार्टीका प्रतिनिधी, पत्रकार, जातिय÷भाषिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, सामाजिक अगुवा लगायतको उपस्थिति रहेको थियो । जिमी (राई) उत्थान समाज स्थानीय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समाजका केन्द्रीय सहसचिव अबि राईले समाजको अवधरणा प्रस्तुत गरेका थिए । कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधीहरुले समाजको सुझावलाई सकरात्मक रुपमा लिएको र त्यसका लागि पहल गर्ने बताएका ।
जिमी (राई) उत्थान समाज, सोलु,
स्थानीय समिति, सोलुखुम्बु