चौथो आन्तरिक प्रशिक्षण २०७१ सम्पन्न
श्रावण २५, अबि राई – जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको महत्व, आवश्यकताको सन्दर्भमा समाजका सदस्य एवम् शुभेच्छुकहरुलाई जानकारी गराउने उद्देश्यले राजधानीको बानेश्वर स्थित सिद्धार्थफुडल्याण्डमा हिजो आयोजित प्रशिक्षण कार्यक्रममा समाजका महासचिव बिक्रमबाबु राईले समाजको संगठानिक संरचना र अवस्था, सचिव भोजानन्द राईले विधान सम्बन्धी र कोषाध्यक्ष बखत राईले आर्थिक विषयमा जानकारी गराउदै सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा समाजशास्त्री जितपाल किरातले नेपालको सामाजिक, साँस्कृतिक संरचनाको बारेमा जानकारी गराउदै अहिलेको अवस्थाबाट अगाडी बढ्न संगठित हुनुपर्नेमा जोड दिनुभयो । अहिलेको राज्यको संरचना र नीतिले गर्दा किराती समुदाय लगायत आदिवासी जनजातिहरु पछाडि परेकाले एकजुट र संगठित भएर हकअधिकार सुनिश्चित गर्न र आफ्नो समुदायको सामाजिक, साँस्कृतिक रुपान्तरणको लागि लाग्नुपर्ने बताउनुभयो । असंगठित रुपमा व्यक्ति एक्लैले केही गर्न नसकिने भएकोले सबै क्षेत्रमा संगठित रुपमा लाग्नुपर्ने बताए । त्यस्तै संगठनलाई सफल रुपमा अगाडी बढाउन त्यसभित्र क्रियाशिल पदाधिकारी र सदस्यहरुको महत्वपुर्ण भुमिका हुने भन्दै सहभागीहरुलाई आफ्नो सामाजिक जिम्मेवारीप्रति गम्भिर हुनुपर्ने सुझाव दिनुभयो ।
समाजका अध्यक्ष यसबहाुदर राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा समाजशास्त्री एवम् आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पुर्व उपाध्यक्ष जितपाल किरात रहनुभएको थियो । कार्यक्रममा सहभागी सबैलाई सदस्य सुष्मा राईले आफ्नो हृदयका शव्दद्धारा स्वगत गर्नुभएको थियो भने कार्यक्रम सहसचिव अबि राईले संचालन गर्नुभएको थियो ।
सोहि कार्यक्रममा भाषिक कविता गोष्ठी कार्यक्रमको पुरस्कार प्रायोजन गर्नुहुने समाजका विशिष्ट सदस्य एवम् पत्रकार प्रशान एलुङ राईलाई धन्यवाद ज्ञापन पत्र प्रदान गरिएको थियो ।
आन्तरिक प्रशिक्षण कार्यक्रममा केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्य, सल्लाहकार, अक्षयकोषदाता तथा शुभेच्छुक महानुभावहरुको सहभागीता रहेको थियो ।