भाद्र २९, काठमाण्डौ । जिमी (राई) उत्थान समाज सोलुले डा. स्वामी प्रपन्नाचार्य (काले राई) लाई सम्मान÷अभिनन्दन गरेको छ । मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रमुख अतिथ्यमा स्वामी निवास मृगस्थली, पशुपति, काठमाण्डौंमा एक समारोहको आयोजना गरी सम्मानपत्र र रु. ५०,०००।०० (पचास हजार) नगद सहित डा. स्वामी प्रपन्नाचार्य (काले राई) लाई संस्थागत अभिनन्दन गरिएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काईला, पुर्व राजदुत एवं प्राध्यापक डा. नोबल किशोर राई, राष्ट्रिय गानका सर्जक व्याकुल माईला, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डन, पूर्व माननीय भूपाल किराती, डा. चिन्तामणि योगी, पूर्व एस्पी छत्रमान खालिङ्ग राई लगायत राष्ट्रिय जीवनमा महत्वपुर्ण योगदान पु¥याएका प्राज्ञिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
अभिनन्दीत भएपछि डा. स्वामी प्रपन्नाचार्य (काले राई) ले किरात राई समुदायले आफुलाई सम्मान गरेकोमा हर्षविभोर भएको बताउनु भयो । ढिलै भएपनि आफुले गरेको अध्ययन र खोजकार्य किरात राई समुदायले बुझ्न थालेको बताउदै मान्छे सफल होईन असल बन्नुपर्ने बताउनुभयो ।
वि.स. १९७९ सालमा पाँचथरको लालीखर्कमा जन्मिएर ३० वर्षको उमेरबाट अध्ययन कार्य प्रारम्भ गरी वनारस संस्कृत विश्वविद्यालयबाट वेदान्ताचार्य प्रथम श्रेणी तथा राष्ट्रिय संस्कृत संस्थान दिल्लीबाट विद्या वारिधि (पि.एच.डि.) उपाधि हाँसिल गर्नुभएका डा. स्वामी प्रपन्नाचार्य (काले राई) का ‘प्राचीन किरात ईतिहास’र्, वेदमा के छ ?’र्, मिल्केका झिल्का’, ‘किरातहरु मंगोलियाबाट आएका शरणार्थी होइनन्’ लगायत नेपाली, संस्कृत, हिन्दी तथा अंग्रेजीमा गरी करिब पाँच दर्जन जति पुस्तक प्रकाशित भई सकेका छन् । अभिनन्दन समारोहमा डा. स्वामी प्रपन्नाचार्य (काले राई) को व्यक्तित्व र कृतिबारे बैरागी काईला, प्रा.डा. नोबल किशोर राई, डा. गोविन्द टण्डन, डा. चिन्तामणि योगी र जिमी (राई) उत्थान समाजका केन्द्रीय अध्यक्ष यस बहादुर राई लगायतले चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले जाति, वर्ण, व्यवस्थाभन्दा माथि उठेका साधु, सन्त, महात्मालाई अभिनन्दन गरिनु उदारणीय कार्य भएको उल्लेख गर्दै स्वामी प्रपन्नाचार्यको बासस्थानलाई उनको शेषपछि ‘डा.स्वामी प्रपन्नाचार्य संग्रहालय’ को रुपमा विकास गर्ने कोषले निर्णय गरेको बताउनुभयो । कोषले डा. स्वामी प्रपन्नाचार्य (काले राई) लाई आजीवन महिनाको रु. १०,००० (दश हजार) र उहाँको सहयोगी गणेश प्रसाद नेपाललाई रु ३०००।०० (तीन हजार) मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेको कुरा बताउनुभयो । मन्तव्यका क्रममा सदस्यसचिव डा. टण्डनले स्वामी प्रपन्नायार्यको योगदानलाई राज्यले कदर गर्दै त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधि प्रदान गर्न मन्त्रीपरिषदका अध्यक्ष रेग्मीसंग आग्रह समेत गर्नुभयो । समारोहमा भाषाशास्त्री प्रा.डा. नोबल किशोर राईले सानोमा प्रपन्नाचार्यसंग केहि समयसंगै बिताएको क्षण सम्झनुभयो । आफ्नो भनाई राख्नुहुदै राईले राष्ट्रियगानको ‘कोडअफ कन्डक्ट’ बनाउन समेत माग गर्नुभयो । ‘संसारमा राष्ट्रियगान बच्दा सबैजना छातीमा हात राखेर, सतर्क अवस्थामा उभिनुपर्छ’, उहाँले भन्नुभयो ‘तर हामी राष्ट्रियगान गाउँदा के गर्ने÷नगर्ने कोड अफ कन्डक्ट (नियम) छैन ।’ राज्यले राष्ट्रियगानका रचनाकारलाई उचित सम्मान समेत गर्न नसकेको बताउदै अब जीवनवृत्तिको निम्ति सरकारले व्यवस्था गर्नुपर्ने आग्रह गर्नुभयो ।
जिमी (राई) उत्थान समाज, सोलुका केन्द्रीय अध्यक्ष यस बहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य बिक्रमबाबु राईले स्वागत मन्तव्य राख्नुभएको थियो । केन्द्रीय महासचिव केशर राई र केन्द्रीय सदस्य जसिहाङ्ग राईले संचालन गर्नुभएको कार्यक्रममा थुलुङ, कुलुङ, बाहिङ समुदायको साकेला सिली (तोसी) प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिमी (राई) अन्तर्राष्ट्रिय शाखा बेलायतका सचिव मुलीवीर राईको लिखित शुभकामना सन्देश उद्घोषक केशर राईले वाचन गर्नुभएको थियो । कार्यक्रममा किरात संस्थाहरु थुलुङ राई संस्कृति प्रतिष्ठान, किरात कुलुङ भाषा संस्कृति उत्थान संघ, किरात वाहिङ मुलुखिम, वहिङ्ग किरात समाज, धरान,सुनसरी सह–आयोजकको रुपमा रहेका थिए । सहआयोजक संस्था र मेवाहाङ राई समुदायको तर्फबाट समेत डा. स्वामी प्रपन्नाचार्यलाई अभिनन्दनपत्र प्रदान गरिएको थियो ।