काठमाडौं, १ साउन । जिमी (राई) उत्थान समाज सोलुले हरेक वर्षझै यस वर्ष पनि भाषिक कविता बाचन कार्यक्रमलाई भव्यतापूर्वक रुपमा सम्पन्न गरेको छ । श्रावण १ गते शनिबार सुकेधारास्थित नवदुर्गा पार्टीप्यालेसमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला)ले गर्नुभएको थियो ।
कार्यक्रममा खालिङ, थुलुङ, कुलुङ र बाहिङ कविहरुले आआफ्नो भाषामा कविता बाचन गरेका थिए । सो अवसरमा बाचन गरिएका धेरैजसो कविताहरु समाज परिवर्तन, भाषा, भेषभूषा र संस्कृति जगेर्नाको लागि यूवाहरु जागरुक हुनुपर्ने, देशको विकासको लागि सबैले भूमिका खेल्नुपर्ने जस्ता भावले ओतप्रोत रहेको थियो ।
समग्र समुदायको अस्तित्व कायम राख्नका लागि कविताको माध्यमबाट भाषा, संस्कृति, भेषभूषा, थातथलोको विषयमा उजागर गर्ने उद्देश्यले कविता बाचन कार्यक्रम आयोजना गरिएको समाजका केन्द्रीय अध्यक्ष यसबहादुर राईले बताउनुभयो । उहाँले यो कार्यक्रमले आपसी भावनात्मक एकता बलियो बनाउनुका साथै विषयवस्तुको उठानसँगै बैठान गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
यस कार्यक्रमको लागि स्थायी ठेगाना टाक्सिन्दु १, सोलुखुम्बु भई हाल अमेरिकामा रहनु हुने वरिष्ठ संगीतकार एवं गीतकार श्री पविधन खालिङले रु.२५,०००।०० –अक्षेरुपी पच्चीस हजार रुपैया संस्थालाई उपलब्ध गराउनु भएको छ स उक्त कार्यक्रमको सह आयोजकमा किरात खालिङ राई उत्थान संघ, थुलुङ राई प्रतिष्ठान नेपाल, कुलुङ भाषा तथा संस्कृति उत्थान संघ र बाहिङ किरात मुलुखिम रहेका छन् । कार्यक्रममा २८ जना मातृभाषाका कवि एवम् कवयात्रीहरुले कविता वाचन गरेको थिए । उनीहरुलाई प्रोत्साहन स्वरुप नगद पाँचसय रुपैया र प्रमाणपत्र समेत दिइएको थियो ।
कार्यक्रम उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले भाषाको प्रवद्र्धन र विकासमा भाषिक कविता बाचन कार्यक्रमबाट अत्यान्तै महत्वपूर्ण योगदान पुग्ने बताए । यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा उनीहरुको जोड रहेको थियो । समाजको १८औं स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको सञ्चालन संगीतकार तथा साहित्यकार जसिहाङ राईले गर्नुभएको थियो ।
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौ ।
अन्य तस्वीरहरु