काठमाण्डौ, मिति २०७३ भाद्र १८ गते शनिबार, नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, सोलुखुम्बू जिल्लाका किरात राईहरुको साझा संस्था जिमी (राई) उत्थान समाजले काठमाडौंमा संस्थाको अठारौं वार्षिकोत्सव तथा वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव एवं गायक, संगीतकार, लेखक गणेश रसिकको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा आगन्तुकहरुलाई स्वागत गर्दै समाजका महासचिव विक्रमबाबु राईले समाजले स्थापनाकालदेखि गर्दै र भोग्दै आएका अवस्थाहरुका बारेमा कुरा राख्नुका साथै समाजले सबै जिमी सन्ततिहरु एवं संस्थाहरुसँग अत्यन्तै होशियारीपूर्वक उदार एवं सकारात्मक व्यवहार गरेका कारण हालसम्म पनि धेरै राम्रा कामहरु गर्न सकेको भनी बताउनुभएको थियो । शुभकामना मन्तव्यका क्रममा किरात लेखक टंक बहादुर राई, किरात खालिङ राई उत्थान संघका अध्यक्ष अर्जुन कुमार खालिङ, नेपाल किरात कुलुङ भाषा–संस्कृति उत्थान संघका अजय कुलुङ, सगरमाथा फाइनान्सका प्रमुख मन बाहिङ राई तथा किरात राई चलचित्र संघका उपाध्यक्ष्य युवराज राईले समाजका सकारात्मक गतिविधिहरुका बारे बोल्दै आगामी दिनमा समाज या समुदायलाई यस्तै रुपमा एकताबद्ध राख्दै जानमा संस्था सफल हुँदै जाने विश्वास समेत व्यक्त गर्नुभएको थियो । आफ्नो मन्तव्यकै क्रममा समाजका अक्षयकोषदाता मन बाहिङ राईले आफ्नो अक्षयकोषको रकम बढाएर रु. २,५१,१५१÷– पु¥याएको घोषणा समेत गर्नुभएको थियो ।
कार्यक्रममा समाजले वार्षिक रुपमा प्रकाशित गर्दै आएको स्मारिका ‘प्रवाह’ को लोकार्पण गर्नुहुँदै प्रमुख अतिथि गणेश रसिकले जिमी समाजको सामाजिक उत्थान र विकासप्रतिको लगाव उदाहरणीय रहेको बताउनुभएको थियो । मन्तव्यका क्रममा भावुक रुपमा प्रस्तुत हुनुभएका वहाँले सोलुबासी किरात जिमी सन्ततिहरुसँग आफू भावनात्मक रुपमा अत्यन्त निकट रहेको विचार राख्दै आफूले देखेका, बुझेका धेरै संघ–संस्थाहरुमध्ये जिमी समाजलाई समाज सुधारका गतिविधिमा शुद्ध मनले लागेको पाएको र यस कार्यले सदा निरन्तरता पाउने विश्वास पनि व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष यश बहादुर राईले सबैका विचार सुन्दै र तिनलाई मिलाएर लैजाने कार्यले आफूहरु निरन्तर अघि बढ्न सकेको भनाइ राख्दै विभिन्न किरातजन्य संस्थाहरुसँगको सहकार्यबाट नै लक्ष्य प्राप्ति सम्भव भएको बताउनुभएको थियो । केन्द्रीय सदस्य एवं कलाकार जसिहाङ राईद्वारा संचालित उक्त कार्यक्रममा समाजका कोषाध्यक्ष बखत राईले संस्थाको आर्थिक गतिविधिका साथमा विभिन्न अक्षयकोषका बारे बोल्नुभएको थियो भने कार्यक्रमका बीचमा पुश्मा नेपालीले गायन तथा सुदीक्षा राईले नृत्य प्रस्तुत गर्दै सबैलाई मनोरञ्जन दिलाएका थिए ।
जिमी (राई) उत्थान समाज,
केन्द्रीय, समिति, काठमाण्डौं