जिमी (राई) उत्थान समाज, सोलु लगायत अन्य किरातजन्य संस्थाहरुद्धारा साहित्यिक सिर्जनाको माध्यमबाट मातृभाषाको संरक्षण र विकासमा टेवा पु¥याउने उद्देश्यले भाषिक रचना वाचन कार्यक्रम २०७२ श्रावण १६ गते शनिबार राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षा २ मा सम्पन्न गरियो ।
कार्यक्रममा किरात कुलुङ भाषाको ५ जना, किरात खालिङ भाषाको ९ जना, किरात थुलुङ भाषाको १६ जना र किरात बाहिङ भाषाको ६ जना मातृभाषा लेखकहरुले आफ्नो रचना वाचन गर्नुभयो । कार्यक्रममा सहभागी प्रत्येक मातृभाषाको कवि, कवयीत्री एवम् लेखकहरुलाई प्रोत्साहन स्वरुप रु. ५००। (पाँच सय रुपैयाँ) र प्रमाणपत्र प्रदान गरिएको थियो ।
जिमी (राई) उत्थान समाज सोलुका पूर्व सचिव एवम् वर्तमान सल्लाहकार केशव राईको सभाध्यक्षता तथा वरिष्ठ गीतकार टिका चाम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिमी (राई) उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष यस बहादुर राई, किरात राई लेखक संघका केन्द्रीय सदस्य एवम् लेखक गणेशकुमार राई, थुलुङ (राई) सामाका केन्द्रीय महासचिव सुवास थुलुङ राई, किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष धन खालिङ, किरात कुलुङ भाषा संस्कृति उत्थान संघका केन्द्रीय महासचिव ईन्द्र कुलुङ, थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राई, जिमी (राई) उत्थान समाज सोलु, बेलायत शाखाका सचिव एवम् बेलायती सेनामा कार्यरत क्या. हरिप्रसाद राई, किराती अगुवा एवम् ग्रीन्भेल्ट अभियान्ता माओ यलुङ राई, मोडल तथा समाजसेवी आङ्तेम्बा शेर्पा, समाजसेवी एवम् लेखक दिपक राई लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार, कलाकार, व्यवसायी लगायत गरी २५० भन्दा बढी साहित्यप्रेमी महानुभावहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सुरुवातमा अलग अभियान टीमको विशेष सांगीतिक प्रस्तुति समेत रहेको थियो भने गायक नरेन्द्र राईले गीत समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् गीतकार टिका चाम्लिङले मन्तव्यको क्रममा किराती समुदायको संस्कृतिको लेखन, अध्ययन र अभिलेखीकरणमा विशेष सावधानी अपनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो हामीले अलिखित संस्कार संस्कृति, भाषा साहित्य आदिको संरक्षण गर्न खोजिरहेका छौ तर त्यो पुर्ण भएन र तोडमोड गरियो भने हामीले भोलीको पुस्तालाई सहि रुपमा बुझाउन सक्दैनौ, हाम्रो मौलिकता मर्नेछ ।
त्यस्तै कार्यक्रमका अतिथिहरुले आफ्नो मन्तव्यको क्रममा यस्ता कार्यक्रमले मातृभाषाको विकासमा सहयोग गर्ने र युवापुस्तालाई आफ्नो भाषाको प्रयोगमा प्रेरित गर्नेभएकोले यसलाई निरन्तरता दिनुपर्ने बताए । त्यस्तै संसारमा किरात राई हरुमात्र एउटा यस्तो जाति हो, जहाँ एउटै जातिभित्र विविध भाषिक समुदाय रहेका छौ, यो हाम्रो अमुल्य सम्पति र विशेषता दुवै भएकोले यसको संरक्षण र विकाससंगै किराती एकतालाई अझ मजबुत बनाउनु पर्नेमा जोड दिनुभयो । हाम्रो समाजमा संस्कृतिका नाममा रहेका विकृति र विसंगतिहरुलाई हटाउदै आफ्नो मौलिकतालाई कायम गर्दै समय सापेक्षा समुदायलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अजय अलङ्कार कुलुङले स्वागत मन्तव्य रहेको थियो भने संचालन अबि राईले गर्नुभएको थियो ।
कार्यक्रमको आयोजक जिमी (राई) उत्थान समाज, सोलु, केन्द्रीय समिति, सह–आयोजक थुलुङ (राई) सामा, केन्द्रीय समिति, किरात खालिङ राई उत्थान संघ, केन्द्रीय समिति,, किरात कुलुङ भाषा संस्कृति उत्थान संघ, केन्द्रीय समिति र थुलुङ राई संस्कृति प्रतिष्ठान रहेको कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न नेचाबतासे–६, हाल न्युयोर्क अमेरिकामा रहनुभएका यस समाजलाई सदैव स्नेह, माया ममता हरदम गरी रहने समाज सेवी एवं पत्रकार तथा लेखक प्रशान एलुन राईले Rs. 25,000/-(पच्चिस हजार रुपैयाँ) सहयोग गर्नुभएको छ । उहाँ प्रति यो समाज उच्च कदर गर्दै हार्दिक कृतज्ञा अभार प्रकट गर्दछ ।
प्रस्तुति : अबि राई